डा. प्रकृति ज्ञवाली
छाला तथा यौन रोग विशेषज्ञ/कस्मेटोलोजिष्ट तथा लेजर विशेषज्ञ
स्वस्ति लेजर एन्ड स्किन केयर, नक्साल काठमाडौं
प्लेटिलेट रिच प्लाज्मालाई छोटकरीमा पिआरपी भनिन्छ । प्रशोधित पिआरपी कपाल उमार्न छालामा हालिन्छ । पिआरपी भनेकै प्लाज्मा हो, जसमा प्लेटिलेट कोषिकाको मात्रा धेरै हुन्छ । त्यसैले कपालमा मलजल गर्ने यो किसिमको तरिकालाई पिआरपी गर्ने भनिएको हो ।
पिआरपी बनाउन बिरामीको रगत २० देखि ३० एमएल निकालिन्छ । रगत सेन्टिफ्यूज मेसिनमा प्रक्रिया तथा प्रशोधन गरिन्छ । प्रशोधन गरेर रातो रगत प्लाज्मामा परिवर्तन गरिन्छ । प्रशोधित रगत प्लाज्मामा परिवर्तन हुन्छ । प्रशोधन गरेर प्लाज्मामा परिवर्तन गरेको रगत पहेँलो किसिमको देखिन्छ । केश पलाउन र छाला स्वस्थ हुनका लागि आवश्यक पर्ने प्लेटिलेट पहेँलो रगतमा हुन्छन् ।
कपाल उमार्ने प्लाज्मा
कपाल उमार्नका लागि प्लाज्मा महत्वपूर्ण हुन्छ । प्लाज्मा अर्थात पहेँलो रगत कपालको वृद्धि–विकास तथा छालाका लागि आवश्यक तत्व हो ।
प्लाज्मामा २० भन्दा धेरै कपालको वृद्धि–विकास तथा छालाका लागि आवश्यक (ग्रोथ फ्याक्टर) तत्व हुन्छन् । प्लाज्माले कपाल तथा छालाको वृद्धि विकासमा सहयोग गर्छ ।
रगतमा आरबिसी, डब्लुबिसी, प्लेटिलेट गरी तीन किसिमका रक्त कोषिका हुन्छन् भने कपाल उमार्नका लागि प्लेटिलेटको आवश्यकता हुन्छ ।
मानिसको निकालिएको रगतमध्ये केश उमार्नका लागि प्लेटिलेटको मात्रै आवश्यकता पर्ने भएकाले प्लेटिलेट मात्रै प्रशोधन गरेर राखिन्छ ।
पिआरपी (प्लेटिलेट रिच प्लाज्मा) धेरै किसिमका समस्यामा प्रयोग गर्न सकिन्छ । आँखामुनिको कालोपन हटाउन, डण्डीफोर तथा घाउको खत हटाउन पनि प्रयोग गर्न सकिन्छ ।
कपाल झरेको अवस्थामा पिआरपीको सहायताले कपाल पलाउन मद्दत गर्छ । प्लेटिलेट रगतको प्रयोग गरेर केश उमार्ने एक किसिमको उपचार पद्धति हो ।
जहाँ जहाँ केश झरेको छ त्यस ठाउँमा मसिनो सुईको माध्यमबाट पिआरपी अलिअलि गर्दै हालिन्छ ।
कपालको जरामा पोषण
मानिसको शरीरमा यी तीनै किसिमका रगत हुने भए पनि कपालका लागि पर्याप्तता हुँदैन । त्यसैले निकालेर लाउनु पर्छ । प्लेटिलेट कपालको जरामा सिधै हालिने भएकाले कपाल आउँछ ।
छालामा दुई तह हुन्छन् । छालाको बाहिरी भागलाई इपिडर्मिस भनिन्छ भने भित्री भागमा डर्मिस हुन्छ । कपालको जरा डर्मिस भागमा हुन्छ । पिआरपी गरेर प्लाज्मा पनि मसिनो सुईको माध्यमबाट डर्मिस भागमा पु¥याइन्छ, जहाँ कपालको जरा हुन्छ ।
सुईबाट लगाएको प्लाज्मा छालाबाट रक्त सञ्चारमा नमिसिने भएकाले यो फेरि रक्त सञ्चारमा फैलिँदैन । त्यसैले कपालको जरामा प्लाज्मा रहिरहन्छ । कपाललाई खाद्य तत्व पुगिरहन्छ । र कपाल पलाउँछ ।
हर्मनले पुरुषको कपाल धेरै झर्छ
सबैमा पिआरपीले मात्रै काम गर्छ भन्ने हुँदैन । कपाल झर्नु तथा पातलो हुँदै जानुका विभिन्न कारण हुन्छन् । एउटै मात्रै कारण नहुन सक्छ ।
औषधिको प्रयोग, थाइराइड, शरीरमा भएको कुनै पनि किसिमको रोग, तनावका कारणले पनि केश झर्न सक्छ । खानपिनमा कमी, अचानक खाना खानै छोड्ने, डाइटिङ गर्नेजस्ता कारणले पनि केश झर्ने समस्या हुन्छ । शरीरमा भिटामिन तथा खाद्य तत्वको अभावका कारणले कपाल झर्न सक्छ । शरीरमा आइरनको कमी, पानी, प्रदूषणलगायतका कारणले केश झर्ने समस्या हुन्छ ।
एन्ड्रोजन हर्मनको कारणले धेरैजसो पुरुषमा एन्ड्रोजेनिक एलोपेसियाजस्तो समस्या देखिन्छ ।
यो वंशाणुगत समस्या हो । पुरुषमा एन्ड्रोजन हर्मनका कारणले पनि कपाल झर्छ । पुरुषमा विशेषगरी एन्ड्रोजनका कारणले कपाल खुईलिँदै जान्छ । विशेषगरी टाउकाको अगाडिको भाग अर्थात् निधार माथिबाट कपाल खुईलिँदै जान्छ भने कतिपय पुरुषको तालुबाट पनि झरेको देखिन्छ ।
एन्ड्रोजन हर्मनका कारणले कपालको जरालाई असर गर्न सक्छ । त्यसैले कपाल खुईलिने सम्भावना हुन्छ ।
महिलाको तुलनामा पुरुषमा एन्ड्रोजन हर्मन बढी हुने भएकाले महिलाको तुलनामा पुरुषको कपाल बढी झरेको देखिन्छ।
महिलाको तुलनामा पुरुषमा एन्ड्रोजन हर्मन बढी हुने भएकाले महिलाको तुलनामा पुरुषको कपाल बढी झरेको देखिन्छ।
धेरैजसो महिलाको भने टाउकाको सबै भागबाट बिस्तारै कपाल झर्दै गएको देखिन्छ । महिलाको कपाल झर्दा एकै ठाउँबाट मात्र नभएर सबैतिरबाट झर्न सक्छ ।
पिआरपी गरेपछि कपालको जरामा पर्याप्त मात्रामा खाद्य तत्व पुग्छ । र कपाल आउँछ । सुईमार्फत पिआरपीको सहायताले पहिलो नम्बरमा कपाल झर्न रोकिन्छ ।
तीन पटकमा कपाल पलाउँछ
कपाल उमार्नका लागि महिनामा एकपटक पिआरपी गर्नु पर्छ । पहिलोपटक पिआरपी गरिसकेपछि कपाल झर्न रोकिन्छ । ३/४ पटक पिआरपी गरेपछि टाउकोमा नयाँ कपाल आएको देख्न सकिन्छ । त्यसैैले नयाँ कपाल देखिन पिआरपी गरेको कम्तीमा तीन महिना पर्खिनु पर्छ ।
एकपटक पिआरपी गर्दा सामान्यतयाः दस हजारको हाराहारीमा खर्च हुन्छ ।
२० देखि ३० एमएल निकालिएको रगतमा तीनदेखि पाँच एमएल पिआरपी हुन्छ । सामान्तयाः टाउकाको पछाडिको भागको कपाल झरेको हुँदैन । अगाडि र तालुमा नै गएको हुन्छ । त्यसैले पाँच एमएलसम्म पिआरपीले टाउकाको कपाल उमार्न तथा वृद्धि–विकासका लागि पर्याप्त हुन्छ । जुन जुन भागको कपाल झरेको छ त्यही भागमा सुईको माध्यमबाट पिआरपी गरिन्छ ।
मसिनो सुइ हुन्छ, जसले एक–एक थोपा छालामा हालिन्छ । सामान्यतयाः एक सेन्टिमिटरको फरकमा पिआरपी गरिन्छ ।
पिआरपी गरेको कपालमा सामान्यतयाः ६ महिनामा एकपटक फलोअपका लागि सम्बन्धित चिकित्सककहाँ जानु राम्रो हो ।
जरा भएकोमा पिआरपी
कपालको जरा नै मरिसकेको अवस्थामा कपाल पुनः नआउन पनि सक्छ । त्यसैले सबैभन्दा पहिलेत कपालको जरा छ वा छैन भन्ने परीक्षण गरेर पत्ता लगाइन्छ ।
कपाल पुनः पलाउनका लागि कपालको जरा हुनु पर्छ । जरा छ भने मात्रै जरामा पोषण तŒव दिएपछि कपाल पलाउँछ । बिरुवा जस्तै हो कपाल पनि । बिरुवाको जरा नै मरिसकेको छ भने जति मल जल गरे पनि बिरुवा पलाउँदैन । जरा छ भने मात्रै मल जल गरेपछि बिरुवा आउँछ । त्यसैले जरा मरेको छैन तर पोषण नपाएर बढ्न नसकेको अवस्थामा पिआरपी गरेर पोषण दिइन्छ र पुनः कपाल पलाउँछ । जति जरा राम्रो हुन्छ, त्यतिनै कपालको गुणस्तरीयता हुन्छ ।
कतिपय अवस्थामा फेरि कपाल रोप्नु पर्छ, त्यसलाई प्रत्यारोपण गर्ने भनिन्छ । त्यसैले कपालको जरा मरेको हो वा पोषण तत्व नपाएर नबढेको हो भन्ने छुट्याइन्छ ।
कतिपय अवस्थामा फेरि कपाल रोप्नु पर्छ, त्यसलाई प्रत्यारोपण गर्ने भनिन्छ । त्यसैले कपालको जरा मरेको हो वा पोषण तत्व नपाएर नबढेको हो भन्ने छुट्याइन्छ ।
पिआरपी कपालको जरा भएको अवस्थामा मात्रै गरिन्छ भने प्रत्यारोपण गरेको कपालमा पनि पिआरपी गरेको खण्डमा पुनः कपाल झर्नबाट बच्छ । रोपेको कपाललाई पोषण तत्व पु-याउनका लागि पनि पिआरपी गर्दा राम्रो ।
पाको उमेरमा पनि गरिन्छ, पिआरपी
सबै उमेर समूहमा पिआरपी गर्न मिल्छ । सामान्यतयाः बालबालिकाको कपाल झर्ने समस्या हुँदैन । १२ वर्षभन्दा माथिका उमेर समूहमा पिआरपी गर्न सकिन्छ । साठी वर्षभन्दा पाका उमेरका मानिसमा जवानीको जस्तो कपाल पलाउँछ भन्ने पनि हुँदैन । तर बुढेसकालमा पनि कपालको पिआरपी नगरिने भने हैन । धेरै जसो २० देखि ४० वर्ष उमेर समूहका मानिस कपाल भर्ने समस्या लिएर आउँछन् । पिआरपी पनि जवानी उमेर समूहमै धेरै गरिन्छ । ‘स्वस्ति लेजर एन्ड स्किन केयर’मा कपालको समस्या लिएर आउनेमध्मे अधिकांश २० देखि ५० वर्ष उमेरकै हुन्छन् । महिलाको तुलनामा पुरुष धेरै आउँछन् । तर महिला पनि त्यत्तिकै आउँछन् । कपालको पिआरपी गर्न महिनामा करिब ३० जना आउँछन् ।
पिआरपी सत प्रतिशत सुरक्षित
पिआरपीको जोखिम हुँदैन । कपाल उमार्ने अत्यन्तै सुरक्षित तरिका हो । पिआरपी गरेर कपाल उमार्दा जोखिम शून्य हुन्छ । कुनै पनि किसिमको जोखिम हुँदैन । आफ्नै शरीरको रगत निकालेर प्रशोधन मात्रै गरिन्छ । कुनै पनि किसिमको औषधिको प्रयोग नगरिने भएकाले यो अत्यन्तै सुरक्षित तरिका हो । हल्का चिस्स दुख्न सक्छ । पिआरपी गर्दा सुइको माध्यमबाट गरिने भए पनि नदुख्ने मलम लगाएर गरिन्छ । त्यसमाथि पनि मसिनो सुइको प्रयोग हुने भएकाले पिआरपी गर्दासमेत दुख्दैन । यो तरिका सत प्रतिशत प्राकृतिक हो ।
भविष्यमा पनि पिआरपीको कुनै पनि किसिमको साइड इफेक्ट हुँदैन ।
पैसा पनि धेरै खर्च गर्नु नपर्ने, अप्रेसन पनि गर्नु नपर्ने भएकाले पिआरपी गरेर कपाल उमार्ने तरिका भरपर्दो तरिका हो । समयको पनि बचत हुने भएकाले पिआरपी प्रभावकारी छ । कपाललाई स्वस्थ राख्न पिआरपी गरिन्छ ।
प्रस्तुतिः उपेन्द्र खड्का
No comments:
Post a Comment