ओखर बगैंचा स्थापनाको तयारी


बैतडी। फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैंचा स्थापना गरिने भएको छ ।
बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैंचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । ओखरका बिरुवा ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा उपलब्ध गराइने भएको छ । बगैंचा स्थापना गर्ने किसानलाई प्रस्ताव ल्याउन कार्यालयले आग्रह गरेको छ ।
बैतडीको सुर्नया गाउँपालिका–२ र ३, दशरथचन्द नगरपालिका–९, वासुदेव मावि लिस्किटाको नर्सरी, दोगडाकेदार गाउँपालिकाका–४, पाटन नगरपालिका–१ र ९, सिगास गाउँपालिका, मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा बगैंचा स्थापनाका लागि कार्यक्रम स्वीकृत भएको छ । यस्तै, दार्चुलाको दुहुँ गाउँपालिका–४ र ५, मालिकार्जुन गाउँपालिका–२, ४ र ८, ब्यास गाउँपालिकाको सुनसेरा, नौगाडको सुण्डमुण्ड, महाकाली नगरपालिकाको पौनेखोला, मार्मा गाउँपालिका र शैल्यशिखरमा ओखरको बगैंचा स्थापनाका लागि प्रस्ताव आ≈वान गरिएको छ ।
ओखरखेती गर्ने किसानले पुस १० गतेभित्र कृषि ज्ञानकेन्द्र बैतडीमा प्रस्ताव पेश गर्नुपर्नेछ । अत्यधिक माग भएकाले ओखरबाट किसानलाई आत्मनिर्भर बनाउनका लागि बगैंचा स्थापना गर्ने कार्यक्रम ल्याइएको हो । बजारमा ओखर प्रतिकिलो ६ सयदेखि रु ८ सय रुपैयाँमा विक्री हुने गरेको छ ।
यसैबीच, पछिल्लो केही वर्षयतादेखि बैतडीको सतबाँझमा स्याउ फल्न छोडपछि त्यसको विकल्पमा ओखरखेती गर्न थालिएको छ । अन्य फलफूलभन्दा ओखरबाट किसानले पर्याप्त आम्दानी गर्न सक्ने भएपछि सुख्खा फलफूल विकास केन्द्रले ओखर उत्पादनलाई प्राथमिकतामा राखेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिए ।

No comments:

Post a Comment