१७ करोडको स्याउ निर्यात



जुम्ला। जुम्लाबाट १७ करोडबराबरको स्याउ निर्यात भएको छ । यहाँका व्यापारीले १७ करोड बढीको स्याउ बाहिरी जिल्लामा निर्यात गरेका हुन् । यो वर्ष स्याउ बेचेर जिल्लाका कृषकले पाँच हजारदेखि १० लाखसम्म आम्दानी गरेका छन् ।
जिल्लामा झन्डै ३४ सय टन स्याउ उत्पादन भएको थियो । अहिलेसम्म २३ सय टन बढी स्याउ निर्यात भइसकेको छ । जुम्लाबाट पहिलोपटक ठूलो परिणाममा दुई टन फुजी स्याउ निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको स्याउ सुपरजोन जुम्लाले जनाएको छ ।
आठवटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करिब तीन सय जना व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले अनुमति दिँदा लाखौं कर संकलन गरेका छन् । स्याउ व्यापारीले सरदरमा प्रतिकेजी ५० रुपैयाँका दरले कृषकबाट स्याउ खरिद गरेका थिए ।
कार्यालयका अनुसार जिल्लाको स्याउ काठमाडांै, नेपालगन्ज, सुर्खेत, विराटनगर, पोखरा, महेन्द्रनगरलगायत देशका प्रमुख व्यापारिक सहरमा निर्यात भएको छ । काठमाडौं भाटभटेनी सुपरमार्केटमा जुम्लामा प्रतिकेजी ५० रुपैयाँले खरिद भएको स्याउ १५० रुपैयाँ र प्रतिकेजी २ सयसम्ममा खरिद भएको फुजी स्याउ ३ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
उत्पादन घट्यो :
जिल्लाको कुल ३ हजार ४५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । गत वर्ष ३७ सय टन स्याउ निर्यात भएको थियो । यो वर्ष झन्डै ३ तीन सय टन स्याउ उत्पादनमा कमी आयो ।
जुम्लाका कुल १८ हजार घरधुरीमध्ये करिब १४ हजार घरमा स्याउ बगंैचा छन् । स्याउ सुपरजोन लागूू भएदेखि स्याउका बिरुवा बढ्दै छन् । तर, बिरुवाको अनुपातमा भने स्याउ उत्पादन घट्दै गएको पाइएको छ । जलवायु परिवर्तनको असर स्याउ उत्पादनमा परेकाले अहिले उत्पादन घटेको कृषक मिमराज उपाध्यायले बताए ।
‘तीनवटा बिरुवाले दिने उत्पादन बराबर चार वर्षपहिले एउटा बिरुवाले उत्पादन दिने गरेको थियो,’ उनले भने, ‘त्यसको तुलनामा धेरै कम उत्पादन भयो ।’ लक्ष्य राखिएको भन्दा निकै कम स्याउ उत्पादन भएको स्याउ सुपरजोनका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माको भनाइ छ । उनका अनुसार स्याउ फुल्ने समयमा असिना पर्ने, हिउँ कम पर्ने, पानी बढी पर्ने र विभिन्न रोगका कारण स्याउ उत्पादन घटेको हो ।
किसान चिन्तित :
दल खड्काले बर्सेनि स्याउ उत्पादन घट्दै गएकामा चिन्ता व्यक्त गरे । ‘अरूको देखेको भरमा स्याउ खेती गर्नु यहाँका किसानको बाध्यता हो,’ उनले भने, ‘कृषकलाई स्याउ उत्पादनसम्बन्धी पर्याप्त ज्ञान र सिप आवश्यक छ ।’ कृषि ज्ञान केन्द्रका कृषि विज्ञ बालकराम देवकोटाका अनुसार सिप र सामग्री पाए पनि व्यवहारमा कार्यान्वयन नगर्दा समस्या भएको छ । विशेषगरी, यस वर्ष जिल्लाको चौधबिस क्षेत्रमा परेको असिनापानी र अन्य ठाउँमा चलेको ठूलो हावाहुरीले स्याउ उत्पादन घटेको हो ।

No comments:

Post a Comment