चियाखेतीको पनि बीमा

काठमाडौं। किसानले अब चियाखेतीको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले ‘चियाखेती बीमालेख’ लागू गरेपछि किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो ।
समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिको सञ्चालक समितिले बुधवार नै उक्त बीमालेखलाई पारित गरिसकेको छ ।
समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले चियाखेतीमा हुने अधिकांश जोखीमको रक्षावरण हुने गरी बीमालेख तयार गरिएको बताए । उनका अनुसार यसै हप्ता उक्त बीमालेख कम्पनीहरूमा पठाइनेछ । ‘त्यसपछि किसानले इच्छाएको कम्पनीबाट चियाखेतीको बीमा गर्न सक्नेछन्,’ उनले भने । किसानले निर्जीवन बीमा कम्पनीमार्फत चियाखेतीको बीमा गर्न सक्नेछन् । देशको अर्थतन्त्रमा कृषिक्षेत्रको महत्त्व र त्यसमा हुने जोखीमलाई दृष्टिगत गर्दै समितिले २०६९ सालमा कृषि बीमा कार्यक्रम ल्याएको थियो ।
कृषिक्षेत्रलाई आर्थिक जोखीमरहित बनाउँदै व्यावसायिकतातर्फ उन्मुख गराउन कार्यक्रमले मद्दत पुग्ने अपेक्षा गरिएको छ । समितिले यसअघि यसै कार्यक्रमअन्तर्गत काउली, अदुवालगायत बालीको बीमालेख लागू गरिसकेको छ । समितिले ४० भन्दा बढी प्रजातिका तरकारीको बीमा गर्ने उद्देश्य लिएको छ ।
यस बीमालेखले आगलागी, चट्याङ, बाढी, भूकम्प, प्राकृतिक प्रकोप, कीरा तथा रोगबाट हुने नोक्सानीको रक्षावरण गर्नेछ । साथै, सम्बन्धित किसानको पनि रू। २ लाखको दुर्घटना बीमा हुने बीमालेखमा उल्लेख छ । बोटको संख्या, वार्षिक औसत मूल्य (प्रति केजी) र वार्षिक औसत उत्पादन (प्रतिग्राम-प्रतिबोट)का आधारमा बीमांक निर्धारण गरिनेछ ।
किसानले बीमांकको ५ प्रतिशतका दरले बीमाशुल्क भुक्तानी गर्नुपर्ने छ । दुर्घटना बीमाका लागि प्रतिहजार ५० पैसा बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखमा उल्लेख छ ।
चिया बगानको हकमा चियाको बेर्ना लगाइसकेपछि मात्र बीमा गर्न सकिनेछ । बीमांक रकम निर्धारण गर्न कृषिसम्बद्ध सरकारी कार्यालयबाट प्रमाणित गरेको हुनुपर्ने छ ।
यस्तो छ दाबी प्रक्रिया :
रक्षावरण गरेका जोखीमहरूबाट नोक्सानी भएमा सम्बन्धित किसानले दाबी गर्न पाउने छन् । तर, यसका लागि बीमा अवधिभित्र कुल उत्पादनको ५ प्रतिशतभन्दा बढी क्षति भएको हुनुपर्ने छ । साथै, बीमा अवधिभर ८० प्रतिशतभन्दा बढी क्षति भएमा किसानले पूर्ण क्षतिअनुसारको दाबी भुक्तानी पाउने बीमालेखमा उल्लेख छ ।
किसानले नोक्सानी भएको १५ दिनभित्र आवश्यक कागजपत्रसहित सम्बन्धित कम्पनीमा दाबी पेश गर्नुपर्छ । दाबी पेश गर्दा सक्कली बीमालेख, दाबी फाराम, प्राविधिकको प्रतिवेदन, कृषक डायरीलगायत कागजपत्र समावेश गर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीले आवश्यक प्रक्रिया पु¥याएर किसानलाई वास्तविक क्षतिको ९० प्रतिशत दाबी भुुक्तानी गर्नेछ ।

No comments:

Post a Comment