नेपाली अर्गेली जापान निर्यात

फिदिम। जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । पाँचथरको फालेलुङको दाजुभाइ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लिमिटेडको अगुवाइमा उत्पादित अर्गेली गत वर्षबाट जापान निर्यात हुन थालेको हो ।
जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने बढ्दै गएको छ । सहकारीले गत वर्ष १३ टन अर्गेली जापान निर्यात गरेको छ । यसबाट रु ५९ लाख १५ हजार आम्दानी पाँचथरका गाउँमा भित्रिएको छ । केही प्रशोधित अर्गेली प्रतिकिलो रु ४५५ मा बिक्री भइरहेको सहकारीका अध्यक्ष ओमराज थाम्सुहाङले जानकारी दिए । उनका अनुसार यस वर्ष २० टन अर्गेली उत्पादन गरी जापान निर्यात गर्ने लक्ष्य सहकारीले लिएको छ । स्थानीयवासीको आय वृद्धिका लागि अर्गेलीलाई भरपर्दो माध्यमको रूपमा विकास गर्ने लक्ष्य लिइएको थाम्सुहाङको भनाइ छ ।
उक्त सहकारीको अगुवाइमा पाँचथरको च्याङथापु, फलैँचा, ओयाम, सिदिन, लुङरुपा, फिदिमलगायत स्थानमा अर्गेली खेती विस्तार र व्यावसायिक उत्पादन थालिएको छ । यस वर्षको सङ्कलन कार्य शुरु भएको जानकारी दिँदै अध्यक्ष थाम्सुहाङले जापानले एक लाख ५० हजार किलोग्राम लोक्ता मागे पनि मागको करीब २५ प्रतिशत मात्र अर्गेली निर्यात गर्न सकिने बताउँछन् ।
मागबमोजिमको उच्चस्तरको प्रशोधित अर्गेली निर्यात गर्ने प्रयत्न भने थालिएको थाम्सुहाङको भनाइ छ । देशभरिबाट करीब ६० टन अर्गेली जापान निर्यात हुने गरेको छ । राम्रो मूल्यमा बिक्री हुन थालेपछि कृषकमा अर्गेली विस्तार गर्ने आत्मविश्वास बढेको थाम्सुहाङले बताए । चिसो मौसम र हावापानी भएका स्थानमा खेर गइरहेको कान्ला र पाखो बारीमा लगाउन मिल्ने अर्गेलीको बिरुवाबाट चार वर्षपछि लोक्ता निकाल्न मिल्ने हुन्छ ।
सहकारीले जापानमा माग भएअनुसारको अर्गेली उत्पादनका लागि संस्थागतरूपमै प्रयत्न गर्दै आएको छ । माग उच्च भएसँगै पछिल्ला तीन वर्षमा मात्रै फालेलुङ गाउँपालिकाको वडा नं ७ र ८ पानीपरुवा तथा वतासे, फिदिम नगरपालिका–३ लालीखर्क र लब्रेकुटी, फिदिम नगरपालिका–८ इथुङ र रानीटारमा करीब चार हजार रोपनी क्षेत्रफलमा अर्गेलीको व्यावसायिक खेती शुरु भएको छ । यी स्थानमा व्यावसायिक अर्गेली खेती विस्तारका लागि सोही सहकारी संस्थाले सहयोगसमेत गरेको हो ।
जापानमा माग भएबमोजिमको उच्च गुणस्तरको अर्गेलीको बोक्रा बिक्री गरेर बाँकी रहेको कच्चा पदार्थले स्थानीयस्तरका नेपाली हाते कागज उद्योग सञ्चालन गर्न सकिने कृषकको भनाइ छ । स्
थानीयस्तरमा रोजगारी सिर्जना गर्न मद्दत पुग्ने भन्दै पाँचथरको फिदिम नगरपालिकाले वडा नं ३, ८ र १४ मा कृषकलाई खेती प्रविधि र हाते कागज निर्माणसम्बन्धी तालीमसमेत सञ्चालन गर्दै आएको छ ।

No comments:

Post a Comment